२१ जेठ, काठमाडौं । नेपालले विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ ।
समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा उक्त खेल खेलिएको थियो। खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
सुनिल बलको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुगले त्रिभुवन आर्मी फुटबल क्लबका टिममेट सुमन अर्यालको क्रसमा गोल गरे ।
समूह बी मा दोस्रो जितपछि नेपालले ६ खेलबाट ६ अंक नै जोडेको छ । यसअघि पनि नेपालले चाइनिज ताइपेई विरुद्ध नै ३ अंक जोडेका थिए । नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया