सोलुखुम्बु । सोलुखुम्बु स्थित थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईद्वारा आफू चढ्ने गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने निर्णय भएको छ । जिल्लाभित्र कोरोना संक्रमितको संख्या बढे सङ्गै उहाँले गाडीसहित ३ वटा सवारीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिनु हुने भएको हो।
उहाँले जानकारी दिनु भए अनुसार सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना महामारीको जटिल अवस्थामा ३ वटा सवारी साधन तयारी अवस्थामा राखि बिरामीलाई निशुल्क उद्धार गर्ने निर्णय भएको हो।
सङ्कास्पद लक्षण देखिएका ब्यक्तिहरुको गाउँपालिकाद्वारा सञ्चालित अक्सिजन कन्सन्ट्रेटर सहितको अस्थायी हस्पिटलमा राखेर उपचार गरिने र साथसाथै लक्षण नदेखिएका संक्रमितलाई होम आइसोलेसनमा राखिने निर्णय पनि गरिएको छ ।
पालिकाले मेडिकल किट (पल्स अक्सिमिटर, सिटामोल, मास्क, स्यानिटाइजर) लगायतका स्वास्थ्य सामाग्री होम आइसोलेसनमा बस्नेका लागि उपलब्ध गराई दैनिक दुई पटकसम्म स्वास्थ्य परामर्श प्रदान गर्ने तयारी गरेको छ ।
फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराई वितरण गर्ने निर्णय पनि गरेको छ । तत्कालको लागि एक महिना न्यूनतम पारिश्रमिकको ५० प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको पालिका अध्यक्ष राईले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया