काठमाडाैं – लुम्बिनी प्रदेशमाथि ८ विकेटको शानदार जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी ललितपुर मेयर्सकप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूर पश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो । यस सँगै फाइनल पुगेका टोलीद्वय एपिएफ र सुदूरपश्चिमले एक खेल अगावै अन्तिम दुईमा स्थान बनाउन सफल भएका हुन् ।
सुदूरपश्चिमले फाइनलमा स्थान बनाउनका लागि बुधबार लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । सुदूरपश्चिमको जितमा मन्जु बोगटीले सर्वाधिक २६ रन जोडिन । बिन्दु रावल १७ रनमा अविजित रहिन । रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाइन् । लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिइन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिईन । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १/१ विकेट आफ्नो नाममा लेखाए । लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो । प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपिएएफबीच प्रतिस्पर्धा हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया