×

१ सय १३ जनाले लिए हिमाल आरोहण अनुमति, सबैभन्दा बढी सगरमाथामा

चैत्र १९, २०७७ | दाक्सु मिडिया

काठमाडौं – हिमाल चढ्न सबैभन्दा उत्तम मानिने वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न बुधबारसम्म १४ समूहले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस अवधिमा १४ समूहका १ सय १३ जना आरोहीले अनुमति लिएका हुन् । उनीमध्ये ३४ जना महिला रहेका छन् ।

विभागका अनुसार सगरमाथा चढ्न मात्र चार समूहका ४६ जनाले अनुमति लिएका छन् । सगरमाथापछि अन्नपूर्णमा ३४ जनाको अनुमति जारी भइसकेको छ । सगरमाथा चढ्ने समूहमा बहराइनका राजकुमार सहितको १६ जनाको दुई टोली समेत सामेल छ । यो टोली सगरमाथा चढ्न आजै लुक्ला प्रस्थान गरेको छ । सगरमाथा क्षेत्रमा आइसफल डाक्टरले बाटो बनाइरहेका छन् ।

विभागका अनुसार अहिलेसम्म सगरमाथा, नुप्त्से, मनास्लु, अन्नपूर्ण, ल्होत्से, टुकुचे र धौलागिरि हिमालका लागि आरोहण अनुमति जारी भएका छन् । यता, बुधबारसम्म विभागले आरोहण अनुमतिबाट मात्र ७ करोड ८ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: