काठमाडौं – ठीक सय वर्षअघि सन् १९२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहणको पहल सुरु भएको थियो । सन् १९२४ मा आरोहणमा गएको अमेरिकी टोलीका दुई सदस्य २७ हजार ६ सय फिटको उचाइमा पुगेर बेपत्ता भए । जिएल मालोरीको शव ७५ वर्षपछि सन् १९९९ मा भेटियो भने एन्ड्र्यु अरभिनको शव अहिलेसम्म बेपत्ता छ । सगरमाथामा अहिलेसम्म तीन सय ५० को मृत्यु भएको छ, जसमध्ये करिब तीन सय शव हिउँमै रहेको अनुमान छ । सगरमाथासहित अन्य ६ हिमालमा रहेका शव र फोहोर संकलन गर्न नेपाली सेनाले डेढमहिने अभियान सञ्चालन गर्दै छ । यसपटक ३५ टन फोहोर संकलन गर्ने लक्ष्य छ ।
सगरमाथा, ल्होत्से, मकालु, अमादब्लम, पुमोरी र धौलागिरि हिमालबाट फोहोर तथा शव संकलन गर्न सेना र शेर्पाको एक सय १२ सदस्यीय टोली परिचालन हुँदै छ । जसमा ३८ जना सैनिक र बाँकी गैरसैनिक हुन् । सगरमाथा, पुमरी र ल्होत्से हिमालका लागि एउटा र मकालु, धौलागिरि तथा अमादब्लम हिमालका लागि अर्को टोली खटिनेछ । उनीहरूले २ वैशाखदेखि १५ जेठसम्म फोहोर संकलन गर्नेछन् । सगरमाथा क्षेत्रमा मात्रै एक सय ४० टन फोहोर र ४० टनजति दिसाजन्य फोहोर रहेको अनुमान छ । सेनाका अनुसार सगरमाथा क्षेत्रबाट मात्रै तीन सयभन्दा बढी आरोहीको शव निकाल्न बाँकी छ । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा भने अहिलेसम्म आरोहणका क्रममा तीन सय ५० जना जतिको मृत्यु भएको अनुमान गरिएको बताए । सन् २००८ देखि २०१९ सम्म शेर्पाहरूको टोलीले सगरमाथा क्षेत्रबाट २१ हजार एक सय किलो फोहोर संकलन गरेर ल्याएका थिए । त्यो फोहोर गोरक्ष क्षेत्रमा ठूलो खाल्टो खनेर पुरिएको पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पाले बताए । त्यस्तै, ०७६ वैशाख र जेठमा सेनाले पनि सगरमाथासहितका हिमालबाट ११ हजार किलो फोहोर र चारवटा शव संकलन गरेको थियो ।
सगरमाथा र ल्होत्सेबाट १७ टन, मकालु, आमादब्लम र धौलागिरिबाट पाँच–पाँच टन तथा पुमोरीबाट तीन टन फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ । अभियानको तयारीका लागि सेनाले १ चैतदेखि मुस्ताङको कैसाङमा रहेको उच्च शिखर शिक्षालयमा जलवायु अनुकूलन तालिम दिइरहेको छ । २६ चैतसम्म तालिम चल्नेछ । अभियानमा खाली अक्सिजन सिलिन्डिर, प्लास्टिकका बोतल, क्यान, ब्याट्री, खाना बेरिएका वस्तु, च्यातिएका टेन्ट, कागज तथा मृत शरीर संकलन गर्ने सेनाको योजना छ । संकलित नसड्ने फोहोर सगरमाथा क्षेत्रको नाम्चे, मकालु–वरुण क्षेत्रको नुम र धौलागिरि क्षेत्रको जोमसोमबाट हवाई साधन र मोटरबाटो हुँदै काठमाडौं ल्याइनेछ । ‘हिमालय क्षेत्रको प्रदूषण नियन्त्रण गर्न, जलवायु परिवर्तनको असर कम गर्न, हिमालय अर्थतन्त्रलाई प्रवद्र्धनका लागि सरकारलाई सहयोग गर्ने हाम्रो लक्ष्य हो,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले भने, ‘यो हाम्रो प्रकृति र पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने अभियान पनि हो ।’
सफाइ अभियानका लागि १२ करोड ५५ लाख ७१ हजार रुपैयाँ खर्च हुने सेनाको प्रारम्भिक अनुमान छ । सैनिक तथा निजी क्षेत्रका हेलिकोप्टरका लागि ७९ लाख ६८ हजार, हिमाल सफाइमा जाने शेर्पालगायतका लागि आठ करोड ६४ लाख ५८ हजार, लत्ता–कपडाका लागि एक करोड ३६ लाख ४४ हजार, सैनिकहरूलाई भत्तालगायतका लागि पौने दुई करोड खर्च हुने सेनाको प्रारम्भिक मूल्यांकन छ । बजेटको व्यवस्थापन पर्यटन विभागले गरेको हो । अभियानमा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय पनि सामेल हुनेछ । राष्ट्रिय प्रकृति संरक्षण कोषसहित मुस्ताङ, सोलुखुम्बु र संखुवासभाका प्रमुख जिल्ला अधिकारी, सगरमाथा र मकालु–वरुण राष्ट्रिय निकुञ्ज प्रशासन एवं स्थानीय संघसंस्था पनि यो अभियानमा सामेल हुने सेनाले जनाएको छ । सेनाको वन्यजन्तु तथा वातावरण निर्देशनालयका निर्देशक हिमांशु खड्का यो अभियानका निर्देशक तोकिएका छन् । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, वातावरण विभागका महानिर्देशक र पर्यटन मन्त्रालयका सहसचिवले पनि समन्वयकारी भूमिका निर्वाह गर्ने सेनाले जनाएको छ ।
भारतीय उपमहाद्वीपमा रहेका आठ सय किलोमिटर लामो हिमालय शृंखलाहरू करिब एक अर्ब ३० करोड जनसंख्याको पानीको स्रोत हो । यस क्षेत्रमा ६ हजार मिटरभन्दा माथिका एक हजार तीन सय १० हिमालमध्ये हालसम्म चार सय १४ हिमाल मात्रै आरोहणका लागि खुला गरिएका छन् । आरोहण खुला भएका हिमालमा आरोहीहरूले फोहोर छाड्ने गरेका छन् । सफाइ टोलीलाई सेनाले ३१ चैतमा हिमाल सफाइ अभियानको झन्डा हस्तान्तरण गर्नेछ । उच्च सरकारी अधिकारी र काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थितिमा जंगी अड्डाबाट औपचारिक रूपमा अभियान सुरु गर्ने सेनाको योजना छ । हिमालबाट संकलन गरिएको फोहोर विश्व वातावरण दिवसका अवसरमा २२ जेठमा जंगी अड्डा परिसरबाटै सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।सफाइमा खटिनेलाई मेडिकल तथा आपत्कालीन उद्धारको सुविधा छ । हाई अल्टिच्युड मेडिसिन र उपकरणको व्यवस्था गरिएको छ । हाई अल्टिच्युडको स्वास्थ्य प्रयोजनका लागि नौजना दक्ष स्वास्थ्यकर्मी व्यवस्था गरिएको छ । फिल्ड तथा काठमाडौंमा रहने समन्वय निकायबीच सम्पर्कका लागि स्याटलाइट, वाकिटाकी सेटको व्यवस्था गरिएको छ । सड्ने फोहोर स्थानीय गाउँपालिकालाई हस्तान्तरण हुनेछ भने नसड्ने फोहोर मात्रै काठमाडौं ल्याइनेछ । नसड्ने फोहोर लुक्ला, नुम र जोमसोमसम्म सेनाले ढुवानी गर्नेछ भने त्यहाँबाट काठमाडौंमा सेना तथा फोहोर व्यवस्थापनसम्बन्धी कम्पनीले ढुवानी गर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया