×

विस्तारै नियन्त्रणमा आउँदै घातक वायु प्रदूषण

चैत्र १८, २०७७ | दाक्सु मिडिया

काठमाडौँ – केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि केही हदसम्म नियन्त्रणमा आएको छ । चैत १३ पछि तराई, पहाड, केही हिमाली जिल्ला र संरक्षित क्षेत्रका वनमा डढेलो बढेको थियो । स्थानीय प्रदूषणमा डढेलोको धूवाँ मिसिएपछि राजधानीसहित देशभरको वायु ‘घातक’ बनेको छ ।

दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजकसमेत रहेका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले मंगलबार ८१ स्थानमा मात्र डढेलो देखिएको बताए । ‘मंगलबारदेखि केही नियन्त्रणमा आएको देखिन्छ,’ उनले भने, ‘तर डढेलोको पिक सिजन बाँकी नै छ, त्यो बेला अझ विकराल बन्न सक्छ । सचेत हुनैपर्छ ।’ उनका अनुसार वैशाख महिनामा डढेलोको जोखिम अझ बढी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको प्रि–मनसुनको अवधि अत्यन्तै सुक्खा हुने बताएको छ । सुक्खा बढेकै कारण डढेलोजन्य विपद् बढेको हो । आइतबार ५२३ स्थानमा र सोमबार ४३ जिल्लाका १७१ स्थानमा डढेलो लागेको थियो । तराईका जिल्लामा मंगलबार अघिल्लो साताको तुलनामा डढेलो घटेको छ । ‘मध्यपहाडी क्षेत्रका वनमा डढेलो लागेकै देखिन्छ,’ शर्माले भने । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरूले तालिमप्राप्त जनशक्ति परिचालन गरेका छन् । बाराका डिभिजनल वन अधिकृत मन्जुर अहमदले डढेलो नियन्त्रणका लागि ‘कन्ट्रोल फायरिङ’ लाई जोड दिइएको बताए ।

‘डढेलोले जंगलमा रहेका काठ क्षति नगरोस् भनेर कन्ट्रोल फायरिङ पनि गरेका छौं ।’ डिभिजन वनले डढेलो र वन्यजन्तु तस्करी नियन्त्रणका लागि कर्मचारी परिचालन गरेको छ । तर पर्याप्त मात्रामा डढेलो निभाउने उपकरण अभावले अप्ठ्यारो ठाउँको डढेलो भने नियन्त्रण लिन नसकिएको अहमदले बताए । वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले नियन्त्रणमा लिन सकिने किसिमको डढेलो व्यवस्थापनका लागि सबै डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराइएको बताए । ७ वटै प्रदेशका डिभिजन वन कार्यालयले केही हदसम्म डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् । संघीयतापछि निकुञ्ज–आरक्ष र संरक्षित क्षेत्रबाहेकको वन प्रदेशअन्तर्गतका वन मन्त्रालयमातहत व्यवस्थापन हुने गरेको छ । यसैबीच गत शुक्रबारदेखि देशका विभिन्न भागमा लागेको तुवाँलो चौथो दिन केही घटेको छ । सौराहाबाहेक काठमाडौं बाहिरका जिल्लाहरूमा तुवाँलो घटेपछि आन्तरिक हवाई उडान सहज भएको छ । यो समाचार कान्तिपुरमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: