काठमाडौं – लामो प्रतीक्षारत मेचम्चीको पानी आजदेखि काठमाडौंवासीले उपभोग गर्न पाउने भएका छन् । आजदेखि वितरण हुने पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)को पुरानै प्रणालीबाट वितरण गरिन लागेको छ ।
अनामनगर क्षेत्रका नयाँ लाइन जोडिएका १६ सय धारामा पाइलट प्रोजेक्टका रुपमा चौबिसैघण्टा पानी उपलब्ध गराइने भएको छ । तीबाहेक अन्यत्र भने चौबिसैघण्टा पानी वितरण गर्न नसकिने आयोजनाले जनाएको छ ।
यी क्षेत्रमा जाँदैछ मेलम्चीको पानी
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ । बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले विस्तारै पानीको परिमाण बढाउँदै लैजाने निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले बताए ।
‘‘चैत १५ गते चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेका छौँ । सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाड्नेछौँ,” उनले भने, ‘‘चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण गर्ने छौँ ।”
पहिलो दिनदेखि नै पिउन योग्य पानी
काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले मेलम्चीको पानी शुक्रबारदेखि नै थोक वितरणमा पठाइएकाले १५ गते पहिलो दिनदेखि नै पिउन योग्य पानी धाराधारामा पठाइने जनाएको छ । केयूकेएलका सहायक प्रवन्धक नारायण कर्णका अनुसार पाइपको फोहोर पखाल्न शुक्रबारदेखि नै थोक वितरणमा पानी पठाइएको छ ।
‘‘पाइपको फोहोर सफा गर्न पानी पठाइएकाले १५ गतेसम्म फोहोर सफा भइसक्नेछ । तैपनि केही दिन मेलम्चीको पानी उपयोग गर्ने उपत्यकाबासीले पानी तताएर वा फिल्टर गरेर पिउँदा राम्रो,” उनले भने, ‘‘मेलम्चीको पानी सफा हो । सुन्दरीजलमा खाना मिलिरहेको छ । धारामा पनि सफा पानी जाने हो । पहिलो दिनदेखि नै पिउन मिल्छ ।”
मेलम्ची खानेपानी आयोजनाले पहिलो चरणको पानी धारामा पठाइसकेपछि दोस्रो चरणमा चक्रपथ रिङरोड बाहिरका क्षेत्रमा पानी पठाउने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया