काठमाडौँ – फागुपूर्णिमाको दिन आज पहाडी भेगमा होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । काठमाडौँसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ । तराईमा भोलिमात्रै होली मनाइन्छ ।
फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने गरिन्छ । फागुपूर्णिमाका दिन बालबच्चादेखि वृद्धवृद्धासम्मले होलीको मजा लिने गर्छन् । होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत लिइन्छ ।
काठमाडौँको वसन्तपुर दरबारअगाडि फागुन शुक्ल अष्टमीको दिन लिंगो गाडेपछि होली सुरुभएको मानिन्छ । होलीपर्व पूर्णिमाको दिन राति लिंगो ढालेर जलाएपछि सकिन्छ । तर तराईका थारु समुदायमा होली तीनदिनसम्म मनाइन्छ ।
सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् । अहिले पनि कोरोना भइरस (कोभिड–१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् ।
होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरेकी छन् ।
साथै यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामनासमेत गरेकी छन् । ‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति¸विसङ्गति¸कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य¸सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै होली पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया