×

गाँजामा विवाद हुँदा टाउकै छिनाएर साथीको हत्या

चैत्र १२, २०७७ | दाक्सु मिडिया

काठमाडौं – सर्लाहीको सदरमुकाम मलगंवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील राययादवको हत्या गरेको अवस्थामा शव भेटिएको छ। बिहीबार टाउको काटिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

यादवको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा खेतमा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए।

यादवको हत्यामा संलग्न २ जनालाई पक्राउ गरिसकेको एसपी राठौरले बताए। पक्राउ पर्नेमा यादवकै साथीहरु रहेका छन्। एसपी राठौरका अनुसार घटनामा संलग्न कमल पण्डित र अशोक झा पक्राउ परेका छन्।

बुधबार राती ९ बजेसम्म उनीहरु तीनैजना सँगै बसेर एक होटलमा रक्सी खाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मालिकले होटल बन्द गरेपछि तीनैजना एउटै मोटरसाइकलमा निस्केका थिए।

उनीहरुले लागूऔषध गाँजा सेवन गर्ने गरेको समेत खुलेको छ। गाँजाको विषयमा विवाद हुँदा यादवको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राठौरले बताए। ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी राठौरले भने।

हत्यापछि उनीहरु आफ्नै घरमा गएर सुतेका थिए। प्रहरीलाई शुक्रबार बिहान ९ बजे मात्र खेतमा टाउको काटिएको अवस्थामा एकजना मान्छेको शव भेटिएको भन्दै स्थानीयले खबर गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: