चितवन– धुर्मुस अर्थात् सीताराम कट्टेल । भरतपुर महानगरपालिकास्थित रामपुरमा निर्माण हुँदै गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभावको संकलनार्थ देशव्यापी अभियान सुरु गर्नका लागि हिँड्न लागेको दिन । भोलि अर्थात् चैत १० गते कञ्चनपुरबाट सुरु हुन लागि अभियानका लागि रंगशाला टिम कञ्चनपुर प्रस्थान गरेको छ ।
रंगशाला निर्माणका क्रममा आर्थिक समस्या पर्दै गएपछि धुर्मुस सुन्तली फाउन्डेशनले अर्थ संकलनका लागि मेची महाकाली अभियानको घोषणा गरेको थियो । सोही अभियान सुरु गर्नका लागि चितवनबाट सोमबार धुर्मुस सहितको टोली कञ्चनपुर प्रस्थान गरेको छ ।
आँफैंले निर्माण गर्न लागेको रंगशालामा दैनिक ज्यालादारी श्रमिकले दिएको सहयोग रकमबाट अभियानको सफलताको शुभकामना पाउँदै गर्दा धुर्मुस भावुक भए । अभियानमा सहभागी हुने टोलीलाई रंगशालामा कार्यरत मजदुरहरुले टीका, माला, खादासहित आफूशक्य रकमले बिदाई गरे । जसबाट कामबापतको ज्याला लिएर दैनिक गुजारा चलाइरहेका थिए, त्यही अभियानका लागि सानै भए पनि सहयोग गर्न पाउँदा मजदुरहरु खुशी देखिन्थे भने धुर्मुस गहभरिएका आँखासहित मुस्कुराउन खोजेका थिए ।
हरेक जिल्लामा दुई दिन बसेर रंगशालाका बारेमा जानकारी गराउँदै अभियानमा जोड्ने प्रयासमा फाउन्डेसन लागेको छ ।
उक्त टोलीमा कट्टेलसहित अर्जुन भुषाल, अर्जुन घिमिरेलगायत सहभागी हुने पनि जनाइएको छ । उनीहरुलाई फाउन्डेशनकी उपाध्यक्ष एवं धुर्मुस पत्नी कुञ्जना घिमिरे सुन्तलीले पनि बिदाई गरेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया