×

किन विवादित बन्दै छ खुवालुङ,पछिल्लो एक सातामा के-के भयो ?

चैत्र ६, २०७७ | दाक्सु मिडिया

काठमाडौँ -अहिले खुवालुङ क्षेत्र संरक्षण समिति खुवालुङ रहेकै स्थान वरपर निरन्तर आन्दोलनरत छ । आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङ र किराँत राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले पनि खुवालुङ मास्ने सोच विरुद्ध चुनौती दिंदै आएका छन् ।

अहिले खुवालुङ क्षेत्र संरक्षण समिति तथा अभियन्ताहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिरहेको अभियन्ता राजन मुकारुङले अनलाइनखबरलाई बताए । मुकारुङले भने, ‘राज्यपक्षबाट औपचारिक निर्णय नआउँदासम्म आन्दोलन गरिरहनेछौं । यसबाहेक सबै राष्ट्रिय महत्त्वका सम्पदा बचाउनुपर्ने एजेन्डामा हामी लडिरहनेछौं ।’

जनता समाजवादी पार्टीका प्रदेश-१ अध्यक्ष प्रवीण चाम्लिङ राज्यले खुवालुङ मात्रै नभई कुनै पनि संस्कृति र पहिचान नष्ट गर्न नमिल्ने बताउँछन् । चाम्लिङ भन्छन्, ‘राज्यले यदि नष्ट गर्न खोज्छ भने हाम्रो पार्टी त्यसको प्रतिकार गर्छ ।’

पछिल्लो एक सातामा ‘खुवालुङ बचाउ आन्दोलन’ले राष्ट्रियस्तरमा चर्चा पायो । जसले किराँत मात्र नभई अन्य जाति र समुदायका संस्कृतिकर्मीलाई पनि आकर्षित गर्‍यो । यसै समय अभियन्ता र पत्रकारको टोली खुवालुङ ढुंगा रहेकै स्थानमा पानीजहाज चढेर पुगे ।

स्वतन्त्र अन्वेषक तथा संस्कृतिविद्हरू पनि खुवालुङ पुग्ने क्रम जारी छ ।

फागुन २४ गते चतरा पुलमा प्रदर्शन भइरहँदा प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई काठमाडौंमा थिए । उनले काठमाडौंमा नै किराँत राई यायोक्खासँग खुवालुङबारे छलफल गरेको कुरा बाहिरियो ।

मुख्यमन्त्री राई आफू खुवालुङबारे प्रष्ट जानकार नभएकाले अध्येता तथा अभियन्तासँग बुझेर मात्र थप कदम चाल्ने बताउँछन् ।

अभियन्ताहरूले आन्दोलनका क्रममा लेखेका नाराहरू
यता २७ फागुनमा खुवालुङ संरक्षण अभियन्ता दिनेश काम्दुङ राई र साजन राईलाई प्रहरीले पक्राउ गर्‍यो । चतारास्थित जेटबोट सञ्चालक र दिनेशबीच विवाद हुँदा जेटबोट सञ्चालकको उजुरीका आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले पक्राउ गरेको थियो ।

दिनेश खुवालुङ क्षेत्र संरक्षण समितिका सदस्य हुन् । देश-विदेशमा रहेका पहिचान पक्षधरहरूले पनि सामाजिक सञ्जालबाट उनीहरूको रिहाइको माग गरे । चौतर्फी दबाबपछि २४ घन्टामै उनीहरू रिहा भए ।

दिनेश र साजनको रिहाइका लागि जनता समाजवादी पार्टी नेपाल प्रदेश-१, किराँत राई विद्यार्थी संघ, खुवालुङ क्षेत्र संरक्षण समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका थिए । जसपा प्रदेश १ को विज्ञप्तिमा ‘किराँती सभ्यताको युगौं युगदेखि चिरस्थायी रहँदै आएको ढुंगोलाई विकासको बाधक भनी आरोप लगाउने तथा क्रेन लगाएर फुटाउने कुराको हामी घोर भत्र्सना र निन्दा गर्दछौं । यो किराँती सभ्यतालाई समाप्त पार्ने गम्भीर षड्यन्त्रको थालनी हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: