×

विराटनगरमा पहिलोपटक रात्रिकालीन प्रतियोगिता हुने

चैत्र ४, २०७७ | दाक्सु मिडिया

विराटनगर – विराटनगरको सहिद रंगशालामा रात्रिकालीन फुटबल प्रतियोगिताको लागि फ्लड लाइट जडानको कार्य सम्पन्न भइसकेको छ । प्रदेश १ सरकारको पाँच करोड रुपैयाँको लागतमा रंगशालामा फ्लड लाइट जडान भई परीक्षणसमेत भइसकेको छ ।
नेपाली फुटबल प्रतियोगिताको इतिहासमा बत्तीको स्थायी संरचनासहित संघीय राजधानी काठमाडौंबाहिर पहिलोपटक रात्रिकालीन प्रतियोगिता हुन लागेको हो । यही चैत २६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी थालिएको छ ।
‘विराट गोल्डकप’को छैटौँ संस्करणको रूपमा साफ क्षेत्रका चर्चित फुटबल क्लबहरुको समेत सहभागितामा प्रतियोगिता हुने बताइएको छ । यसअघि, सहिद रंगशालामा अस्थायी रूपमा बाँसको टावरमा फ्लड लाइट जडान गरी ‘डे–नाइट’ म्याच गरिएको थियो । विराटनगरमा चैतमा अधिक गर्मी हुने कारण दर्शकले समेत रात्रिकालीन प्रतियोगिताको मजा लिन रुचाउने गरेका छन् । दुई वर्षदेखि प्रतियोतिगा हुन सकेको थिएन । अघिल्लो वर्ष कोभिड–१९ का कारण प्रतियोगिता स्थगन गरिएको थियो ।
गोल्डकप आयोजना गर्न विराट गोल्डकप ट्रष्टले विराटनगरका व्यवसायी मनोजविक्रम शाहलाई संयोजकको जिम्मेवारी दिएको छ ।
ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार अत्यन्तै व्यस्त तालिकाबीच विराट गोल्डकप आयोजना गर्न अखिलन नेपाल फुटबल संघ (एन्फा)ले समय मिलाइदिएको छ । मैदान स्तरोन्नति र सहभागी हुने टोलीको विषयमा काम भइरहेको ट्रस्टले जनाएको छ ।
आयोजकका अनुसार विजेता टोलीले नगद १५ लाख १५ हजार रुपैयाँ र उपविजेताले सात लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, सर्वोत्कृष्ट एक खेलाडीलाई मोटरसाइकल, विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, म्यान अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रिक्वार्टर, क्वार्टरफाइनल र सेमिफाइनलबाट बाहिरिने टोलीले क्रमशः ३२ हजार, ५६ हजार र ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतका फुटबल क्लबले पनि भाग लिनेछन् । नेपालका ‘ए’ डिभिजन क्लबसहित १० वटा टिमको सहभागिता रहने बताइएको छ ।
वि.सं २०१८ सालमा तत्कालीन राजा महेन्द्रको नाममा ‘महेन्द्र गोल्डकप’ प्रतियोगिता सुरु भएको थियो । त्यसयता हुँदै र रोकिँदै प्रतियोगिता हुने गरेको थियो । ०६२÷०६३ को जनआन्दोलनपछि गोल्डकपको नाम परिवर्तन गरी विराट गोल्डकप बनाइएको हो । ०६७, ०६८, ०६९, ०७१, ०७२ मा प्रतियोगिता भए । ०७४ मा भने पहिलोपटक दिवारात्रिको समयमा प्रतियोगिता आयोजना गरियो । उक्त संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्रिभुवन आर्मी क्लब उपविजेता बनेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: