☰ open
×

१२ वर्षपछि जापान र दक्षिण कोरियाका शीर्ष नेताबीच भेटवार्ता हुँदै

चैत्र २, २०७९

दक्षिण कोरिया र जापानका शीर्ष नेताहरुबीच १२ वर्षपछि पहिलो पटक आज टोकियोमा दुई पक्षीय औपचारिक भेटवार्ता हुँदैछ ।

यो भेटवार्ताले ऐतिहासिक रुपमै तनावपूर्ण सम्बन्ध रहेका यी दुई छिमेकीबीचको सम्बन्धमा सहजता आउन सक्ने अपेक्षा गरिएको छ । शिखर वार्ताका लागि दक्षिण कोरियाका राष्ट्रपति यून सुक योल आज टोकियो पुग्दै छन् । राष्ट्रपति यून र जापानका प्रधानमन्त्री दुवै जना ऐतिहासिक विवाद र आन्तरिक राजनीतिलाई चिर्दै पारस्परिक सम्बन्ध सुधार्न सकिन्छ भन्ने सोचका साथ एक किसिमको जोखिम मोलेरै अघि बढिरहेको बताइएको छ ।

विगतको तनावपूर्ण इतिहासका कारण दुवै देशबीचको सम्बन्ध जटिल रहँदै आएको छ । जापानले सन् १९१० देखि १९४५ अर्थात द्वितीय विश्वयुद्धको अन्त्यसम्म दक्षिण कोरियालाई आफ्नो उपनिवेश बनाएको थियो । उपनिवशकालमा जापानी सेनाले कोरियालीमाथि ठूलो अत्याचार र दमन गरेको थियो ।

जापानी सेनाले लाखौँ कोरियालीलाई आफ्नो खानी तथा कारखानाहरुमा बंधुवा मजदुरका रुपमा बलपूर्वक काम गर्न बाध्य पारेका थिए । त्यस्तै महिलाहरुलाई यौन दासी बनाएर शोषण गरेका थिए । उपनिवेशकालीन घाउलाई दक्षिण कोरियालीहरुले अहिलेसम्म न त बिर्सेका छन् न त क्षमा नै गरेका छन् ।

आपसमा कटुतापूर्ण सम्बन्ध रहेपनि यी दुवै देश अमेरिकाका निकटमत् मित्र हुन् भने उनीहरुबीचको सम्बन्ध सुधारले राष्ट्रपति जो बाइडनको प्रशासन र उनको एसिया नीति ठूलो फलदायक हुने विश्लेषण गरिएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: