
२४ असार,काठमाडौं। विश्व प्रख्यात सगरमाथा पदयात्रा क्षेत्रमा पर्ने लबुचे करिब ५ हजार मिटर उचाइमा अवस्थित छ । सामान्यतया सगरमाथा आधार सिविर पदयात्रा सुरु गरेको सातौँ दिनमा विदेशी पर्यटकहरु यस ठाउँमा पुग्दछन् । उक्त ठाउँमा ९/१० वटा पर्यटकीय बास गृह अर्थात होटेल, गेष्ट हाउसहरु देख्न सकिन्छ।
पर्यटकीय सिजनमा लबुचेमा भएका होटेल, गेष्ट हाउसहरु विदेशी पर्यटकहरुले भरिभराउ हुने भएकाले त्यहाँ उनीहरूले नै बास नपाउने अवस्था हुन्छ । ति पर्यटकीय बास गृहहरुमा पर्यटन श्रमिक भरियाहरु लाई भने बास दिइदैन ।
विदेशी पर्यटकहरुले बास पाउन मुस्किल हुने स्थान लबुचे र गोरकशेपमा प्रशस्त पर्यटक बास गृहहरु बन्न सकेको छैन । त्यसको मुख्य कारण सगरमाथा राष्ट्रिय निकुञ्ज हो । राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र जुनसुकै भौतिक संरचना बनाउनु परेमा सम्बन्धित राष्ट्रिय निकुञ्जको सिफारिसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुमति दिनु पर्ने व्यवस्था छ । यसरी अनुमति पाउन अत्यान्तै कठिन हुने हुदाँ प्रशस्त मात्रामा पर्यटक बास गृहहरु बन्न सकेका छैनन् भने श्रमिक बास गृह बन्न सक्ने सम्भावना नहुनु सामान्य नै हो ।
त्यस माथि दिङबोचे र चोला पास गरेर जोङलाबाट आउने पर्यटक र पर्यटन श्रमिकहरुको संगम स्थल पनि हो लबुचे । सिमित संख्यामा मात्र बास स्थलहरु भएको कारण विदेशी पर्यटकहरुले त बास पाउन कठिन लबुचेमा पर्यटन श्रमिक भरियाहरुले सहज बासको आस त कल्पना मात्र हो ।
पर्यटन श्रमिक भरियाहरुको हकमा दिङबोचे र जोङलाबाट जो छिटो लबुचे पुग्छ उसैले पहिला बास पाउने अवस्था छ । त्यस कारण पर्यटन श्रमिक भरियाहरु छिटो पुग्न होडबाजीका साथ दौडि रहेका हुन्छन । त्यसरी दौडिदा दौडिदै पनि बास नपाएको पर्यटन श्रमिक भरियाहरु भने बास बस्नको निम्ति थुक्ला, दिङबोचे वा फेरिचेसम्म फर्कनु पर्दछ ।
लबुचे बाट थुक्ला फर्कन १ घण्टा भन्दा बढी समय लाग्छ भने दिङबोचे वा फेरिचे पुग्न २ देखि साँढे २ घण्टासम्म लाग्छ । यति तलसम्म आएर बास बसेका पर्यटन श्रमिक भरियाहरु भोलिपल्ट थुक्ला, दिङबोचे वा फेरिचेबाट लबुचे पुगेर ५००० मिटर उचाइमा भारी बाकेर हिडनु पर्ने अवस्था छ ।
यो उचाइमा यसरी दौडधुप गर्दा मानिसको शरीरले अक्सिजनको मात्रा बढि माग्छ, सो मात्रा पुरा गर्न मानिसको शरीरलाई निकै धौधौ पर्छ । यस्तो अवस्थामा मानिसको शरीरलाई आवश्यक पर्ने अक्सिजनको मात्रा पुरा हुन सकेन भने मान्छे बिरामी हुने गर्दछ ।
ति सम्पुर्ण समस्याको निक्र्याैल गर्दै समाधानको निम्ति लबुचेमा एउटा पर्यटन श्रमिक भरियाहरु बास गृह अत्यान्त आवश्यक ठहर पर्यटन क्षेत्रका श्रमिक संघसंगठनहरु र संघसंगठनहरुको साझा संयुक्त पर्यटन ट्रेड युनियन फोरम जोटुफले गरेको छ ।
लबुचेमा पर्यटन श्रमिक बास गृह बने, सगरमाथा पदयात्राको माथिल्लो क्षेत्रमा पर्यटन श्रमिक भरियाहरुले बास समस्याबाट मुक्त हुने विश्वासका साथ बास गृहको माग नेपाल पर्यटन बोर्ड संग गरिएको नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ निटोगका अध्यक्ष तथा साझा फोरम जोटुफका सचिव राम काजी तिवारी प्रयासले बताए ।
जोटुफ नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ निटोग, नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, क्राक्तिकारी पर्यटन मनदुर संघ नेपाल र समाजवादी पर्यटन श्रमिक ट्रेड युनियन छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया