☰ open
×

प्रधानमन्त्री ओलीद्धारा धरहरा उद्घाटन

बैशाख १२, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उदघाटन गर्नुभएको छ । सुन्धारास्थित धरहरा परिसरमा भएको विशेष कार्यक्रमका बीच नवर्निर्मित धरहराको प्रवेशद्वारमा राखिएको शिलालेखको अनावरण गरेर प्रधानमन्त्री ओलीले पुनर्निर्मित धरहराको उदघाटन गर्नुभएको हो ।
धरहराको उदघाटन पश्चात प्रधानमन्त्री ओलीले लिफ्टबाट धरहराको २० औं तलामा पुगेर पुष्पवृष्टि समेत गर्नु भएको थियो ।


२०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ फागुन ४ गते मेरो धरहरा मै बनाउँछुु अभियानको घोषणा गर्नु भएको थियो । २०७५ साल पुस ५ गते प्रधानमन्त्री ओलीबाट नै शिलान्यास गरिएको नवर्निर्मित धरहराको प्रधानमन्त्री ओलीबाट नै उद्घाटन भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा नवनिर्मित धरहराका लागि ३ अर्ब ४८ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । धरहराको २२ औं तलामा पुरानो धरहराबाट निकालिएको पुरानो शिवलिंग राखिएको छ ।
९० सालको भूकम्पले क्षति पु¥याएपछि ११ तले धरहरा ९ तलामा सिमिति भएको थियो । त्यसपछि ९ तलामा नै सिमिति राखेर पुनर्निर्माण गरिएको थियो । तर अहिलेको धरहरा बाहिरबाट देखिँदा ११ तले रहेपनि भित्र २२ तला रहेको छ । त्यसमा २ वटा लिफ्ट राखिएको छ भने जमिनमुनि २ तलामा पार्किङ्क स्थल बनाइएको छ जसमा ४ सय गाडी र ७ सय मोटरसाइकल अट्ने आकडा गरिएको छ ।
४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको वरपर विश्रामस्थल सहितको बगैंचाको हुनेछ भने संक्षित ऐतिहासिक सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाइएको छ ।
६ वर्ष अघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा ढलेको थियो । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिक स्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न ६ वर्ष लाग्यो , भत्किएको पुरानो धरहरा यथावत राखी नजिकै अर्को धरहरा निमार्ण गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: