☰ open
×

जसपाद्वारा सरकारमा सम्मिलित मन्त्रीहरुलाई पार्टी निष्कासन गर्ने निर्णय

असार ३, २०७८

३ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) द्वारा सरकारमा सम्मिलित ९ जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी ती मन्त्रीहरुलाई निस्कासन गर्ने निर्णय गरेको हो।

यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो ।

बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । पदमुक्त गरिए तापनि सर्वोच्च अदालतले पुनर्बहाली गरेका र मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिंदै आएका चार जनालाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टीभित्रको विवादबारे पुनः निर्वाचन आयोगमा जाने निर्णय पनि जसपाले गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै पुनः निवेदन दिने निर्णय बैठकले गरेको हो ।

यसअघि १७ जेठमा ठाकुरसहित नेताहरुलाई गरिएको कारबाहीलाई आयोगले वैधानिकता दिएको छैन ।

बैठकले बाढी पहिरोमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएको छ भने उद्धार र राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: