
काठमाडौं उपत्यकामा अहिले बिहान ६ बजेबाट निषेधाज्ञा सुरु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले निर्णय गरे अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ ।
निर्णय अनुसार तीनै जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो।
अत्यावश्यक अन्तर्गत खाद्य सामग्रीको पसल बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने छ। यस्तै डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष बिहान १० देखि बेलुका ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
सरकारी कार्यालय, वित्तीय संस्था तथा बैंक र अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन हुनेछन् । यस संस्थाहरुमा कार्यरत कर्मचारीले परिचयपत्र देखाएर आवतजावत गर्न सक्नेछन् । विवाह ब्रतबन्धमा भने स्वास्थ्य मापदण्ड पालना गरी प्रशासन कार्यालयको अनुमति लिएर १५ जनासम्म सहभागी हुन पाइने छ ।
यस्तै विदेश जाने यात्रुहरूको हवाइ टिकट, पासपोर्ट, भिषा हुनेहरूलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने छ ।
संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ । तीन जिल्लाको जारी आदेश अनुसार सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि पूर्ण रूपमा रोक लगाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया