
५ असार, काठमाडौं । उपत्यकामा पुनः एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी गरिएको छ । उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरु निषेधाज्ञा थप्ने तयारीमा जुटेका छन् ।
कोरोनाको दोस्रो लहर बढे सङ्गै सङ्क्रमणको दर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गरिने र साथै महामारीलाई नियन्त्रणमा ल्याउन उपत्यकाभित्र निषेधाज्ञालाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले असार ७ गतेपछि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निर्णय गरिसकेको छ । प्रजिअ पराजुलीका अनुसार अब समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिने कि भन्नेबारे छलफल भइरहेको छ ।
अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई प्राथमिकतामा राखेर बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब भने अरु क्षेत्रमा पनि निषेधाज्ञा खुकुलो बनाउने तयारी छ ।
सीसीएमसीको गएको बुधबारको बैठकले निजी तथा सार्वजनिक सवारी–साधन पनि चल्न दिने गरी स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । यस विषयमा पनि छलफल भइरहेको प्रशासनका अधिकारीहरुको भनाइ छ ।
यसबारे भोलि (आइतबार) छलफल गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । प्रजिअ निरौलाले अब केही क्षेत्रमा खुकुलो गरी एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने कुरा भइरहेको जनाए।
काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ । आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया