
सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ चम्पाबोटमा एक घर जलेर नष्ट भएको छ । आज बुधबार बिहान अन्दाजी ३ बजे मिन कुमारी राईको घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको वडा कार्यालयले जनाएको छ ।
आगलागीबाट ढुंगामाटोले बनेका, टिनको छानो भएको र सिमेन्ट प्लाष्टर गरिएको उक्त साडे २ तलाको घर पुर्ण रुपमा नष्ट भएको वडाध्यक्ष राजन कुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीमा परेर सुन डेढ तोला, घर भित्र एका अन्नपात, लत्ताकपडा, भाडावर्तन र नगदसहित सबै खरानीमा परिणत भएको छ ।
तीन जनाको परिवार बस्दै आएको उक्त घरमा आगलागी हुँदा एक जना मात्रै घर भएको बताइएको छ । २ जना भने उपचारका लागि अन्यत्र रहेकाले घरमा के कति सुनचाँदी तथा नगद थियोे भन्ने यकिन विवरण आउन सकेको छैन् ।
आगो स्थानीयवासी, प्रहरी, जनप्रतिनिधि लगायतको सहयोगमा बिहान ६ बजे तिर पुर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ । आगलागीको कारण यकिन हुन सकेको छैन् यद्यपी विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया