
सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माण गरिने भएको छ । जसका लागि गाउँपालिकाले ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)सँग सम्झौता गरेको छ । गाउँपालिकाको पर्यटन गुरुयोजना निर्माणका लागि सोमबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र टानका अध्यक्ष सागर पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा, महासचिव सोनाम ग्याल्जेन शेर्पा र प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द सेडाई र गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश खालिङलगायतको उपस्थिति रहेको थियो ।
सम्झौता पत्रअनुसार गुरुयोजनाका लागि कुल १५ लाख बजेट रहेको छ । जसमध्ये ११ लाख रुपैयाँ गाउँपालिकाको र बाँकी ४ लाख रुपैयाँ टानको लगानी रहनेछ । गुरुयोजना निर्माणको काम अभिलम्ब सुरु गर्ने र आगामी असार मसान्तभित्र सक्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
गाउँपालिका र टानबीच यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि सहकार्य गर्नेगरी अघिल्लो वर्ष गरिएको दुईपक्षीय सम्झौताको निरन्तरता कै रुपमा पर्यटन गुरु योजना निर्माणलाई पूर्णता दिन लागिएको जनाइएको छ । गाउँपालिकाले टानसँगकै सहकार्यमा अघिल्लो वर्षमात्रै एभरेष्ट दुधकोशी साँस्कृतिक पदमार्गको सुभारम्भ गरेको थियो । गाउँपालिकाको वडा नं. ५ मा पर्ने सिलगुडी डाँडाबाट सुरु हुने उक्त पदमार्ग घुम्नेमेरा, कुधम, योतेल्म्य पर्यटन सेल्टर हुँदै विभिन्न गाउँहरुलाई जोडेर छोटो समयमा विविध प्राकृतिक र साँस्कृतिक सम्पदाहरुको दृश्यपान एवं स्वादपान गर्न सकिनेगरी तयार गरिएको छ ।
सम्झौतापत्रमा हस्ताक्षर गरेपछि टानका अध्यक्ष सागर पाण्डेले नयाँ पदमार्गको विकास गर्दै दीगो पर्यटन प्रवद्र्धन आजको आवश्यकता रहेकोले स्थानीय तह सरकारसँगको संस्थागत सहकार्यलाई निरन्तरता दिइएको बताउनुभयो । केही दिनको प्रचारबाजीमा भन्दा पनि परिणाममूखी काममा आफ्नो ध्यान रहेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले माप्य दुधकोशी गाउँपालिकाको पर्यटकीय सम्भावनालाई पर्यटकीय प्रडक्टको रुपमा विकास गर्न र त्यसका माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न टानको तर्फबाट सबैखाले भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) को मापदण्डसम्बन्धीको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आजको समयसापेक्ष मापदण्ड बनेपछि स्थानीय तह सरकारसँग थप व्यवस्थित सहकार्य हुने र त्यसको मध्यमबाट दीगो पर्यटन प्रवद्र्धनको बाटो खुल्ने भनाइ उहाँको थियो । गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाको पर्यटकीय सम्भावनाको उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्नका लागि टानसँगको सहकार्यले धेरै सहयोग मिलेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया