×

पर्यटन प्रबर्द्धन कार्यका लागि फड्को मार्दै माप्यदुधकोशी गाउँपालिका

माघ १५, २०८० | दाक्सु मिडिया सम्वाददाता

काठमाडौं।पर्यटन प्रबर्द्धनका लागि पूर्बाधार निर्माण गरी छिमेकी गाउँपालिका खुम्बु पासाङ ल्हामूमा केन्द्रित पर्यटन ब्यबसायलाई आफ्नो गाउँपालिकासम्म बिस्तार गर्ने माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको सपना साकार हुँदै गएको छ ।आइतबार माप्यदुधकोशी गाउँपालिका र ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपाल(टान) बीच साझेदारी सम्झौता सम्पन्न भएसंगै अध्यक्ष राईको सपनाले अझ गति लिएको हो।

गाउँपालिका अध्यक्ष राई र टान अध्यक्ष निलहरी बास्तोलाले हस्ताक्षर गर्नुभएको सो साझेदारी सम्झौता माप्यमा पर्यटन बिकासका लागि कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
माप्यदुधकोशी गाउँपालिकामा पर्यटन बिकासका लागि मिलेर अघि बढ्ने गरी गाउँपालिका र टानबीच समझदारी पत्रमा हस्ताक्षर भएयता महत्वपूर्ण उपलब्धि हासिल भइसकेको छ।एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्ग निर्माण र महभीर रक क्लाईम्बिङ यसका उदाहरण हुन।गाउँपालिका र टानबीचको समझदारी अनुरुप ट्रेलको नामाकरण र डिजाइनसंगै गएको महिना स्थानीयस्तरमा पदमार्ग प्रबर्द्धनका लागि बिशेष कार्यक्रमको आयोजना गर्ने कार्य सम्पन्न भइ सकेको टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले जानकारी दिए।

लालीगुराँसको घनाजंगल र सगरमाथालगायत ८ हजार माथिका चारवटासहित २९ वटा हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटनको राम्रो सम्भावना देखिएको प्रमुख कार्यकारी अधिकृत सेढाईको भनाई छ।खालिङ राई र शेर्पा संस्कृतिका साथै खुम्बु-मेरापिक गेट वे पदमार्गको अर्को आकर्षण रहेको उनले बताए।

पालिका र टानबीच आइतबार साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदमार्गको प्रबर्द्धन कार्य अगाडी बढाउन बाटो खुलेको छ। साझेदारी सम्झौता अनुसार अब एभरेस्ट दुधकोशी सांस्कृतिक पदमार्गको प्रोफाइल रिपोर्ट,निश्चित लक्ष्य र दृष्टिकोणसहितको गुरुयोजना निर्माण,पूर्बाधारको सम्भाव्यता अध्ययन,पहिलेका डकुमेन्ट्रीका फुटेजसहित समाबेश गरेर डकुमेन्ट्री निर्माण,सम्भावित ट्रेलको ट्रेकिङ म्याप र अंग्रेजी भाषामा प्रमोशन ब्रोसर तयार गर्ने कार्य हुनेछ।यसका लागि ट्रेकिङ एजेन्सीज एशोसिएसन नेपालले युएनडीपी परियोजनामार्फत प्राप्त केहि रकम लगानी गर्नेछ भने टान र गाउँपालिकाले समेत साझेदारी लगानी गर्ने सम्झौता छ।

साझेदारी सम्झौतामा उल्लेख भएका कार्य सम्पन्न भएपछि सम्भवत बैशाखमा नेपाल टुरिज्म बोर्डमा राष्ट्रियस्तरमा प्रबर्द्धनात्मक कार्यक्रम आयोजना गरिने प्रमुख कार्यकारी अधिकृत सेढाईंले जानकारी दिए।उनले भने,-‘बोर्डमा पदमार्ग प्रबर्द्धनका सामाग्रीहरुको प्रदर्शनपछि पर्यटन बोर्डलाई पर्यटकीय गन्तब्यमा सो पदमार्गलाई सूचीकृत गर्न आग्रह गर्ने र टानले आफ्नो वेबसाइट र इमेलमार्फत सो गन्तव्यको प्रबर्द्धन कार्य अगाडी बढाउनुका साथै ट्रेकिङ एजेन्सीजहरुलाई आफ्नो कार्यक्रममा समाबेश गर्न आग्रह गरिने छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: