सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूलाई मन्त्री छान्न निकै सकस भएको छ। मन्त्री बन्ने आकांक्षीहरू धेरै भएपछि प्रमुख दल नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र तीव्र विवाद देखिएको छ।
औपचारिकरूपमा भागबण्डा नहुँदै मन्त्री बन्ने आकांक्षीहरूको लाम लागेको दलका नेताहरू बताउँछन्। प्रमुख सत्ता घटक नेकपा एमालेभित्र मन्त्री बन्नका लागि सांसदहरू हानथाप गरिरहेका छन्।
पहिलो लटमा एमालेले उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेलसहित ज्वाला शाह, दामोदर भण्डारी र राजेन्द्र कुमार राई मन्त्री बनेका छन्। तर भागबण्डा नमिलेका कारण पौडेलबाहेक तीन जनाको मन्त्रालय विभाजन गरिएको छैन।
त्यसबाहेक एमालेमा कृष्णगोपाल महर्जन, भगवती चौधरी, रघुवीर महासेठ, वसन्त नेम्वाङ, महेश बस्नेत, प्रेम महर्जनलगायत मन्त्री बन्ने दौडमा छन्। काठमाडौंबाट एकमात्र विजयी सांसद भएको भन्दै कृष्णगोपालले दाबी गरेका छन् भने विजय कुमार गच्छदारलाई पराजित गरेको भन्दै भगवतीले मन्त्री बन्नुपर्ने तर्क पेस गरेका छन्।
यता मधेस प्रदेश पुरुषबाट रघुवीरले दाबी गर्दैगर्दा झलनाथ खनाललाई पराजित गरेका महेश बस्नेत र पाँचथरबाट विजयी भएका वसन्त नेम्वाङले मन्त्री बनाउन शीर्ष नेतालाई दबाब दिएका छन्। मन्त्रीका आकांक्षीहरू धेरै भएकाले निर्णय लिन सकस भएको एमालेका एक नेताले बताए। ‘गठबन्धनभित्र अहिल्यै बाँडफाँडको विषय मिलिसकेको छैन। कति मन्त्रालय कसले राख्ने विषयमा सहमति भएपछि बल्ल क-कसलाई पठाउने भन्ने तय हुन्छ। यद्यपि अहिले मन्त्रीका आकांक्षीहरू धेरै देखिनुभएको छ,’ एमालेका एक नेताले भने।
यता माओवादी केन्द्रमा पनि मन्त्री बनाउने कुराले प्रचण्डलाई सकस भएको छ। सोमबार प्रधानमन्त्रीसहित उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई सपथ खुवाएका प्रचण्डमाथि अमनला मोदी, सुदन किराँती, रेखा शर्मा र शक्ति बस्नेतलाई मन्त्री बनाउन दबाब छ। मोदीले तेस्रोपटक संसद प्रवेश गर्दासमेत आफूलाई अवसर नदिएको भन्दै यसपटक मन्त्री बनाउन दबाब दिएका छन्। संविधानसभामा समानुपातिकबाट आएका मोदीले २०७४ र यसपटक प्रत्यक्षमा निर्वाचित भएका थिए।
त्यस्तै सुदन र रेखा शर्माले बलियो प्रतिस्पर्धी पराजित गरेको भन्दै आफूहरूलाई मन्त्रीमा दाबी पेस गरेका छन्। सुदनले प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका थिए भने रेखाले एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेका थिए। यता शक्ति बस्नेतले अनुभवका आधारमा आफू फेरि मन्त्री बन्नुपर्ने दबाब दिँदै आएको माओवादीका एक नेताले बताए।
त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि मन्त्री बन्ने आकांक्षीहरू धेरै छन्। उपत्यकामा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई पराजित गरेका सोविता गौतम, तोसिमा कार्की, विराजभक्त महर्जन मन्त्री बन्न दबाब दिइरहेका छन्। लामिछाने सोमबार उपप्रधान तथा गृहमन्त्रीमा सपथ लिएका थिए।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभगी नहुने निर्णय गरिसकेका छन्। तर संसदीय दलको नेतासमेत छान्न नसकेको जनता समाजवादी पार्टीका सांसदहरू पनि मन्त्री बन्न अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। जसपाबाट अशोक राई, प्रदीप यादव, राजकिशोर यादवलगायत मन्त्री बन्न अध्यक्ष यादवलाई दबाब दिएका छन्। जसपाले भोलि (बुधबार) संसदीय दलको नेता छान्दैछ।
त्यस्तै सरकारलाई समर्थन गरेको स्वतन्त्रका तीन सांसदहरूले पनि मन्त्रीका लागि लबिङ गरिरहेका छन्। सर्लाही-४ बाट विजयी स्वतन्त्र सांसद अमरेश कुमार सिंह, रौतहट-२ बाट निर्वाचित स्वतन्त्र सांसद किरण साह र रौतहट-३ बाट निर्वाचित स्वतन्त्र सांसद प्रभु साह मन्त्रीका लागि लबिङ गरिरहेका छन्। उनीहरूले सरकार नबन्दै प्रचण्ड नेतृत्वको गठबन्धनसँगै जाने सहमति गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया