
बुधबार राति बुद्धनगरस्थित घरमा भएको उक्त घटनामा सांसद भण्डारी गम्भीर घाइते भएका छन् भने उनकी आमा हरिकलाको मृत्यु भएको छ। सांसद भण्डारीलाई उपचार निम्ति भारतको मुम्बई लगिँदै छ। उनको शरीरको ३० प्रतिशत भाग जलेको छ।
ग्यास सिलिन्डरबाट उत्पन्न हुने आगलागी वा अन्य दुर्घटनाका खबर हामी दिनहुँजसो सुन्दै आएका छौं। बिहीबार बिहान मात्र दाङको तुलसीपुरमा खाना पकाउने ग्यास लिक भई बिस्फोट हुँदा दुई जना घाइते भएका छन्।
यस्तो दुर्घटनाका विभिन्न कारणमध्ये म्याद गुज्रिएको सिलिन्डर पनि एक हो।
म्याद गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ। तर धेरै उपभोक्तालाई सिलिन्डरको म्याद हुन्छ कि हुँदैन वा भए पनि कसरी हेर्ने जानकारी छैन। उपभोक्ताले ग्यास बिक्रेताबाट जुन मितिको सिलिन्डर प्राप्त भयो, त्यही सिलिन्डर थपक्क भान्छामा प्रयोग गरिरहेका छन् र खतरा निम्त्याइरहेका छन्।
यो स्टोरीमा हामी सिलिन्डरको म्याद कसरी जाँच्ने भनेर चर्चा गर्दैछौं।
तपाईंहरूले आफ्नो घरमा प्रयोग भइरहेको ग्यास सिलिन्डर हेर्नुभयो भने त्यसको माथिल्लो भागमा सिलिन्डर प्रयोग गर्न सकिने अन्तिम मिति लेखिएको हुन्छ। उक्त मिति हेरेर उपभोक्ता आफैंले म्याद गुज्रिएको छ कि छैन थाहा पाउन सक्छन्। म्याद गुज्रिएको सिलिन्डर फेला पर्यो भने तुरून्तै बिक्रेतालाई खबर गरेर साट्न लगाउनुपर्छ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मालीका अनुसार सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिन्छ।
दस वर्षपछि उक्त सिलिन्डरको भारवहन क्षमता छ कि छैन वा त्यो सिलिन्डर प्रयोग गर्न लायक छ कि छैन भनेर हाइड्रोलिक परीक्षण गरिन्छ। सिलिन्डरमा पानीको फोहोराले दबाब दिएर हाइड्रोलिक परीक्षण गरिने मालीले बताए।
‘सुरूमा १० वर्षपछि हाइड्रोलिक परीक्षण हुन्छ। परीक्षण पास भएको सिलिन्डर फेरि प्रयोगमा पठाइन्छ। त्यसपछि ५ वर्षमा अर्को हाड्रोलिक परीक्षण गरिन्छ,’ उनले भने, ‘पाँच वर्षपछि पनि परीक्षण पास भएको सिलिन्डरलाई फेरि तीन वर्षमा परीक्षण गरिन्छ।’
यसरी पटकपटक हाइड्रोलिक परीक्षण गर्दा जबसम्म सिलिन्डर फेल हुँदैन, तबसम्म प्रयोग गरिने र फेल भएपछि नष्ट गरिने माली बताउँछन्।
‘हाइड्रोलिक परीक्षण गर्दा फेल भएको सिलिन्डरलाई आयल निगम र गुणस्तर विभागको प्रतिनिधि राखेर बिगारिन्छ र फलामका रूपमा बेचिन्छ,’ उनले भने।
हाइड्रोलिक परीक्षण सबै ग्यास उद्योगमा हुँदै आएकाले म्याद गुज्रिएका र जोखिमपूर्ण अवस्थाका सिलिन्डर बजार पठाइने सम्भावना कम रहेको अध्यक्ष मालीले दाबी गरे।
उनका अनुसार सिलिन्डरको म्याद ग्राहक आफैंले थाहा पाउन सक्छन्। सिलिन्डरको माथिल्लो सतहमा जहाँ रेगुलेटर हुन्छ, त्यसको पछाडिको भागमा म्याद उल्लेख भएको हुन्छ। यस्तो म्याद अंग्रेजीमा लेख्ने गरिन्छ।
उदाहरणका लागि, सिलिन्डरको म्यादमा ए, बी, सी वा डी भनेर चारवटा अंग्रेजी अक्षरमध्ये एउटा लेखिएको हुन्छ। उक्त अक्षरको पछाडि अंक लेखिएको हुन्छ।
‘एउटा अल्फाबेट (अक्षर) ले तीन महिना जनाउँछ,’ मालीले भने, ‘ए लेखिएको छ भने जनवरीदेखि मार्चसम्म भन्ने बुझिन्छ। त्यस्तै, बी लेखिएको छ भने अप्रिलदेखि जुन, सी लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर र डी लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बरसम्म भन्ने बुझ्नुपर्छ।
अक्षरको पछाडि जुन अंक हुन्छ, त्यसले चाहिँ सिलिन्डर प्रयोग गर्न मिल्ने अन्तिम वर्षको संकेत गर्छ।
यदि सिलिन्डरमा ए.२६ लेखिएको छ भने त्यो सन् २०२६ मार्चसम्म प्रयोग गर्न मिल्छ भन्ने बुझ्नुपर्छ। त्यस्तै, सी.३० लेखिएको छ भने त्यो सिलिन्डर सन् २०३० सेप्टेम्बरसम्म प्रयोग गर्न लायक हुन्छ।
‘आफ्नो भान्छा सुरक्षित राख्ने एउटा उपाय मिति नगुज्रिएको ग्यास सिलिन्डर मात्र प्रयोग गर्ने हो। यसको निम्ति उपभोक्ताले ग्यास खरिद गर्दा अनिवार्य रूपमा सिलिन्डरको मिति हेर्नुपर्छ,’ अध्यक्ष मालीले भने।

ग्यास लिक भएको शंका लागे त्यो कोठामा बिजुलीको स्विच नछुनुस्
प्रहरीको प्रारम्भिक अनुसन्धानले राति भान्छामा ग्यास लिक भएको कुरा सुरूमा हरिकलाले थाहा पाएको र छोरा चन्द्रलाई यसबारे जानकारी गराएको देखिएको छ।
‘अहिले हामीले सबै कुराहरू बुझिसकेका छैनौं। राति ग्यास लिक भएको थियो। किचनभित्र ग्यास गन्हाएपछि आमाले माननीयज्यूलाई भन्नुभएछ,’ उनले भने,‘उहाँ (चन्द्र भण्डारी) कहाँ के गन्हाएको हो भनेर हेर्न जानुभएछ।’
किचनमा पुगेर सांसद भण्डारीले बिजुली बत्ती बाल्दा एक्कासी आगोको झिल्का आएर आगलागी भएको हुन सक्ने एसपी रिजालले बताए।
‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेको भन्ने बुझिएको छ,’ उनले भने।
जुद्ध वारूण यन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले पनि यो घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएजस्तै कारण हुन सक्ने बताए।
ग्यास लिक भएर कोठा भरिँदा बिजुली बत्ती बाल्न हुन्छ कि हुन्न भन्ने जनचेतना नभएकाले यस्ता आगलागी हुने गरेको भट्टराईले बताए।






फेसबुकबाट तपाईको प्रतिक्रिया