
सोलुखुम्बु।जिल्लाको महाकुलुङ गाउँपालिकामा भोलिबाट ग्रामीण आँखा उपचार केन्द्र सञ्चालनमा आउने भएको छ।
महाकुलुङ गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र सञ्चालन गर्ने सम्झौता भएसँगै गाउँपालिकाको बुङमा भोलिबाट आँखा केन्द्र सञ्चालनमा ल्याउन लागिएको प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो ।
सम्बन्धि सम्झौतापत्रमा गाउँपालिकाको तर्फवाट अध्यक्ष सुर्यबहादुर कुलुङ,तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट डा. मोहन कृष्ण श्रेष्ठ र आँखा केन्द्रको तर्फवाट डिमा तेन्डुप शेर्पाले हस्ताक्षर गर्नुभएको थियो।
सो सम्झौता अनुसार आँखा केन्द्र सञ्चालनमा आउने भएपछि सोमबार गाउँपालिका अध्यक्ष कुलुङको अध्यक्षतामा बसेको बैठकले सम्झौतापत्रको दफा ११ अनुसार गाउँपालिका अध्यक्ष कुलुङकै अध्यक्षतामा बुङ आँखा केन्द्र सञ्चालन तथा ब्यबस्थापन समिति गठन गरेको छ । विमल राना मगर सदस्य सचिब रहने गरी गठन भएको समितिमा खरिधन राई,पर्खीधन राई, हरि प्रसाद आचार्य,विद्यान ताम्राकार (तिलगंगा),सिद्धमनि कुलुङ सदस्य र उपाध्यक्ष बिपना कुलुङ,अस्पताल प्रमुख उमेश श्रेष्ठ तथा समाजसेवी निरकुमार राईलाई आमन्त्रित सदस्यका रूपमा रहनुभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो।
बैठकले ग्रामिण आँखा केन्द्र,वुङ(महाकुलुङ आधारभूत अस्पताल) मा शिक्षक तथा स्वास्थ्य संस्थाबाट स्क्रीनिङ (Screening) गरी रेफर विरामीको Registration charge मा छुट र चस्मामा विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिने तथा गाउँपालिकाका ५ वटै वडामा सामुदायिक स्तरमा आँखा शिविर सञ्चालन गर्न प्राविधिक सहयोगलाई निरन्तरता दिन र औषधि तथा चस्मा नि:शुल्क निवन्त रुपमा उपलव्ध गराउन तिलगंगा आँखा प्रतिष्ठानलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै आँखा उपचार केन्द्रको बैंक खाता सञ्चालन र औषधी तथा चस्माको मूल्य निर्धारण पनि गरिएको राईले बताउनुभयो।बैठकमा तिलगंगा आँखा प्रतिस्ठानका वरिष्ठ अधिकृत हरि कार्कीको समेत उपस्थिति रहेको थियो।
सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने,आँखा केन्द्रमा पहिचान भएका मोतिविन्दुका विरामीहरुको लगत राखी तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरी शल्यक्रिया शिविरमा प्रेषण गर्ने,आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्द्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राह्यता दिने,आँखा स्वास्थ्य सम्वन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र आँखा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आँखा सेवा प्रदायक तथा नेपाल सरकारको स्वास्थ्य संस्थासंग समन्वय गर्ने उद्देश्य सहित आँखा केन्द्र सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङले बताउनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया