×

अमेरिकामा खोप लगाउने युवाका लागि १०० डलरदेखि बियरसम्म दिने अफर

बैशाख २५, २०७८ | दाक्सु मिडिया

नगदसहित बियरसम्मको व्यवस्था गरि अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन युवाहरुलाई उत्साहित गरिएको छ।

अमेरिकी सरकारले आउँदो जुलाई ४ सम्म ७० प्रतिशत वयश्कलाई खोप लगाइसक्ने लक्ष्य लिए तापनि युवा पुस्तामा रहेको खोप विरोधी धारणका कारण खोप अभियानमा समस्या आएको छ।

वेष्ट भर्जिनियामा १६ देखि ३५ वर्षका खोप लगाउने व्यक्तिलाई १०० डलरको बचत पत्र प्रदान गर्ने गरिएको छ। मेरिल्याण्डमा खोपको पूर्णमात्रा लगाउने राज्यका कर्मचारीलाई १०० डलर दिने नियम बनाइएको छ।

टेक्सासको ह्यारिस काउन्टीले खोप लगाउनेहरुलाई दिने गिफ्ट गार्ड तथा पेयपदार्थका लागि दुई लाख ५० हजार डलरको बजेट पारित गरेको छ। जीवन रक्षा र विश्वलाई नै गाँजेको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अन्तिम र एक मात्र विकल्प ठानिएको खोपलाई लिएर अमेरिकामा अझै पनि शंसय रहेको यी अफरहरुले प्रष्ट पारेका छन्।

यस्तै न्यूजर्सीमा खोप लगाउने वयश्कलाई निशुल्क बियर (पिउन योग्य कानूनी उमेर पुगेकाहरुलाई) दिने गरिएको छ। विभिन्न खेलकुद टिमहरुले खोप लगाउने आफ्ना समर्थकलाई निशुल्क टिकट उपलब्ध गराउने पनि अफर सार्वजनिक गरेका छन्।

विश्वका अधिकांश गरिब देशहरुमा खोपको उपलब्धता छैन। तर अमेरिकामा खोप भएर पनि विशेष गरि युवाहरुलाई त्यसतर्फ आकर्षित गर्न समस्या भइरहेको छ।

अमेरिकामा हाल फाइजर, मोदेर्ना र जोन्सन एण्ड जोन्सनको खोप सर्वसाधारणलाई दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: