
सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकामा राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिवल प्रतियोगीता हुने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको ३१ बर्ष पुगेको अवसरमा उक्त प्रतियोगीता हुने भएको हो ।
खुम्बुपासाङल्हमु गाउँपालिका र पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको प्रायोजन तथा ग्रीनतारा टोल विकास संस्थाको आयोजनामा तृतिय राष्ट्रिय विभुति पासाङल्हामु शेर्पा स्मृति कप हुन लागेको बताइएको छ ।
प्रतियोगिता आगामी जेठ २९,३० र ३१ गतेका दिनसम्म ३ दिन खुम्बु पासाङल्हामु गाउँपालिका २ सुर्केमा सञ्चालन हुने छ । जिल्ला व्यापी पुरुष तथा महिला भलिबल प्रतियोगीतामा जिल्लाका ८ वटै स्थानीय तहका विभिन्न संघसंस्था तथा खेलाडीहरुले सहभागी जनाउन सक्ने गाउँपालिकाले जनाएको छ ।
सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के–४ मा जन्मिएकी शेर्पाले २०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला बनेकी छिन् । सगरमाथा आरोहणपछि फर्कने क्रममा पासाङको निधन भएको थियो । पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो ’जासम्बा’ नामको चुचुरोलाई ’पासाङ ल्हामु चुली’ नामकरण पनि गरिएको छ ।
पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेकोे छ । सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेकोे हो । उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत समेत गरेको छ । यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भयाको छ । उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया