
विद्युतीय कारोवार ऐनको दुरुपयोग रोक्न अनलाइन टीभी पत्रकार संघको माग
काठमाडौँ । अनलाइन टीभी पत्रकार संघ नेपालले विद्युतीय कारोवार ऐन २०६३को दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न गृह मन्त्रालयसँग माग गरेको छ ।
विषेश गरेर कारोवार तथा दस्तावेजसम्वन्धी अपराध न्युनिकरण गर्न ल्याइएको ऐनको दफा ४७ लाई प्रहरीले दुरुपयोग गरेको संघको ठहर छ ।
संघका अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले गृहमन्त्री वालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाउदै प्रहरीले अन्य अपराधमा पनि विद्युतीय कारोवार ऐन आकर्षित गर्नु गलत भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
विद्युतीय माध्यममा भइरहेका धेरै अपराधमा गोपनीयताको हक, गाली बेइज्यती र अस्लीलतासम्वन्धी लगायतका कानुन आकर्षित गर्न सकिने संघको भनाई छ ।
इन्टरनेट प्लेटर्फम अभिव्यक्तिको माध्यम भएकाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा असर नपर्ने तर्फ समेत सचेत हुनुपर्नेमा संघले गृहमन्त्री खाँणको ध्यानाकर्षण गराएको छ ।
विद्युतीय माध्यम मार्फत पत्रकारिता गर्ने क्रममा भएका कमीकमजोरी प्रहरीको क्षेत्राधिकारभन्दा प्रेस काउन्सिलको क्षेत्राधिकार भएको संघले स्पष्ट पारेको छ । पत्रकारिता र गैरपत्रकारिताकावीचमा अन्तर नछुट्याइ प्रहरीले व्यवहार गर्दा पत्रकारहरुले दुःख पाइरहेको गुनासोसमेत संघले गरेको छ ।
पछिल्लो समय पत्रकारलाई नियोजित रुपमा प्रहरीले दुःख दिने, झुटा मुद्धा लगाउने कार्य गरिरहेकाले यस्ता कार्य तत्काल बन्द हुनेगरी विशेष कदम चाल्नसमेत गृहमन्त्री खाँणलाई संघले आग्रह गरेको छ ।
विद्युतीय अपराध दिनप्रतिदिन बढ्दै गएकाले सञ्चारकर्मीसँगै दर्शक÷पाठक÷श्रोतालाई साइवर सम्वन्धी सचेतना कार्यक्रम व्यापक गराउनु पर्ने, त्यसका लागि अनलाइन टीभीहरुसँगै सवै प्रकारका सञ्चार माध्यमलाई नै प्रयोग गर्न सकिने र राज्यबाट दिइने अवसर र पहुँच अनलाइन टिभीकर्मीहरुलाई पनि दिनुपर्ने माग संघले गरेको छ ।
संघको मागप्रति गृहमन्त्री खाँणले आफु सकारात्मक रहेको र यस क्षेत्रको विक्रिती न्युनिकरणका लागि सरोकारवालाहरुसँग छलफल गरेर चाडै नै सही कदम चाल्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
ध्यानाकर्षण पत्र बुझाउने टोलीमा संघका वरिष्ठ उपाध्यक्ष संजिव रेग्मी, उपाध्यक्ष कुशलभ केसी, सचिव सरोज गिरीलगायत हुनुहुन्थ्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया