नेपाल टेलिकमको केबल चोरी गर्दै दुई युवक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २६

झापा — झापाको मेचीनगर क्षेत्रमा नेपाल टेलिकमको केबल तार काटेर चोरी गर्न खोज्ने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार मेचीनगर–१३ स्थित चारआली बजारमा रहेको एक पोलबाट टेलिकमको केबल काट्ने क्रममा सोमबार बिहान करिब ४:३० बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले घटनास्थलमै उनीहरूलाई शंकास्पद गतिविधि गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ।

पक्राउ पर्नेमा मेचीनगर–६ का २३ वर्षीय संगम शेर्पा र मेचीनगर–१५ का २१ वर्षीय मणिराज राजवंशी रहेका छन्। प्रहरीले घटनास्थलबाट करिब ३५ मिटर टेलिकम केबल, तीन वटा ह्याक्सो ब्लेड तथा एक थान तार काट्ने उपकरण बरामद गरेको छ।

उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। थप अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक तथा सञ्चार सेवासँग सम्बन्धित पूर्वाधारमा क्षति पुर्‍याउने गतिविधिविरुद्ध कडा निगरानी र कारबाही जारी रहने पनि उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *